लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

श्रावण ३१, २०७७ | रुपन्देही

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु ७ मायादेवीका एकजनाको कोरोना संक्रमितको आज विहान मृत्यु भएको छ । 

निमोनिया भएपछि गत विहीबार अस्पताल भर्ना भएका ४० बर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका मेडिसिन डिपार्टमेन्ट प्रमुख डा सुदर्शन थापाले जानकारी दिनुभयो । 

सोमबार नै उनको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नतिजा प्रष्ट नआएको भन्दै आज विहान एक्सपर्ट जांच गरिएको थियो । त्यसको रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो । मृत्युपछि आएको रिपोर्टमा उनमा कोभिड १९ पोजिटिभ पाइएको डा थापाले बताउनुभयो ।

यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो । कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

कोरोना समुदायमा फैलिएकाले लक्षणसहितका बिरामी पनि बढेको र मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै थापाले अवस्था डरलाग्दो हुनसक्ने बताउनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४ जना आइसोलेसनमा उपचाररत छन् ।


प्रतिक्रिया