पोखरियाका मेयर सहित पर्साका ९२ जनामा कोरोना

भाद्र १, २०७७ | पर्सा

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका वासिन्दा हुन् । 

गत साउन २६ गते वीरगन्ज–११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार विभिन्न पालिकाको क्वारेन्टाइन रहेका तथा कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि गत साउन २७ मा ११ सय भन्दा बढी स्वाब केन्द्रीय प्रयोगशाला टेकु परीक्षणका लािग पठाइएको थियो । टेकुबाट हिजो साँझसम्म प्राप्त भएको रिर्पोट अनुसार पोखरिया नगरपालिकामा ३३ जनामा कोरोना पुष्टि भएको छ । 

पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार सहित उनका परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताउनुभयो । 

पर्साकै जगरनाथपुर गाउँपालिकामा ४ जना स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । 

यसैगरि सखुवा प्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउन महिनामा पर्सामा एक हजार एक सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया