पर्सामा एकै दिन थपिए १ सय २५ जना संक्रमित

भाद्र २, २०७७ | पर्सा

पर्सामा एकै दिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका ६८ र नारायणी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ५७ जनामा संक्रमण देखिएको हो । 

गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि ११ सय भन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ ल्याइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार गएराति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरण अनुसार पर्सामा १६ महिला र ५२ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

 उनीहरुको स्वाब वीरगन्ज महानगरपालिका–११ श्रीपुर विद्यापीठ र त्रिजुद्ध माध्यमिक विद्यालयबाट संकलन गरिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो । साउन यता मात्रै पर्सामा एक हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बाराका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गएराति गरिएको परीक्षणमा वाराको परसौनी गाउँपालिकाका ४ जना, पिलुवाका ३ तथा सिम्रौनगढ ७ र कलैया ६ का १/१ जनामा संक्रमण देखिएको हो । 


प्रतिक्रिया