प्रतिनिधिसभाको बैठक आज बस्दै
असार २३, २०८२ | काठमाडौं
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची रहेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने पाण्डेले बताउनुभयो । बैठकमा महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन समेत पेस हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।












