वेस्ट इण्डिजविरुद्धको सिरिज अस्ट्रेलियाले जित्यो
असार २३, २०८२ | काठमाडौं
अस्ट्रेलियाले एक खेल अगावै घरेलु टोली वेस्ट इण्डिजविरुद्धको सिरिज जितेको छ । वेस्ट इण्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले नेशनल क्रिकेट स्टेडियममा आज बिहान भएको दोस्रो खेलमा घरेलु टोलीलाई १ सय ३३ रनले हराएको हो ।
सिरिजमा अस्ट्रेलिया २–० ले अघि रहेको छ । पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ५९ रनले जितेको थियो । जितका लागि २ सय ४४ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज मात्र १ सय ४३ रनमा समेटियो ।
वेस्ट इण्डिजका कप्तान रोस्टन चेस सर्वाधिक ३४ रनमा बनाए । शेमार जोसेफ २४, शाई होप १७, ब्रान्डन किंग १४ रनमा आउट भए । अस्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान ३, जोस हेजलवुडले २ तथा प्याट कमिंस र बेयु वेबस्टारले समान १ विकेट लिए ।
दोस्रो इनिङमा अस्ट्रेलियाका क्यामरन ग्रिन र स्टिभ स्मिथले अर्धशतक बनाएका थिए । स्मिथले सर्वाधिक ७१ र ग्रिनले ५२ रन जोडेका थिए । ट्राभिस हेड ३९, एलेक्स क्यारी ३० तथा मिचेल स्टार्क १३ रनमा आउट भए ।
वेस्ट इण्डिजका लागि शेमार जोसेफले ४ तथा जस्टिन ग्रेभ्स, जयडेन सेल्स र एण्डरसन फिलिपले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा २ सय ८६ रन बनाएको थियो । पहिलो इनिङमा वेस्ट इण्डिजले २ सय ५३ रन जोडेको थियो । अन्तिम टेस्ट आगामी आइतबार सुरु हुनेछ ।












