कोरोना संक्रमण गाउँघरमा : कडाई सदरमुकाममा

भाद्र १४, २०७७ | धादिङ

धादिङको सदरमुकाममा दुई सातादेखि कोरोना संक्रमण नदेखिएपनि प्रशासनले लकडाउनमा कडाइ गरेको छ । सदरमुकाममा बजार बन्द गर्नुको साथै मोटरसाईकल लगायतका सवारी साधन सञ्चालनमै कडाई गरिएको हो ।

पृथ्वीराजमार्गबाट सदरमुकाम जाने फुर्के खोला पुल, वुङ्गचुङ्ग, वैरेनी, पुछारवजार, वीचवजार र सिरानवजारमा कडा निगरानी बढाईनुका साथै त्रिपुरासुन्दरीबाट सदरमुकाम आउने नेत्रावती नदीमा रहेको टारीवेंसी पुलमै प्रहरी खटाईएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

धादिङमा संक्रमितको संख्या २ सय ११ पुगेकोमा १ सय ५६ जना संक्रमणमुक्त भइसकेका छन् । १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएपनि प्रशासनले भने सदरमुकाममा मात्र लकडाउन कडाई गरेको हो । यसैबीच जिल्ला अस्पताल धादिङले कोरोना संक्रमितको उपचारको लागि भेन्टिलेटर सहितको आइसीयू सेवा दिने जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप जटिलता आउन सक्ने भन्दै जिल्ला अस्पतालले भेन्टिलेटर सहितको आइसीयू सेवा दिन लागेको हो ।


प्रतिक्रिया