वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

भाद्र १६, २०७७ | पर्सा

पर्साको विरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्थाई कोरोना अस्पतालमा १७ दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

 १७ दिन देखि उपचाररत ५३ वर्षीय पुरुषको गएराति पौने एक बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो । कोरोना संक्रमित ती पुरुष मधुमेह र मृगौलाका विरामी थिए । पछिल्लो समयमा उनमा स्वासप्रस्वासको समेत समस्या देखिएको थियो ।

यस्तै, पहिचान नखुलेका एक कोरोना संक्रमति पुरुषको पनि गएराति मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार करिब ६० वर्षीय पुरुषको गएराति पौने ९ बजेको समयमा नारायणी अस्पतालमा मृत्यु भएको हो । मृत्यु पछि गरिएको जिन एक्सपर्ट टेस्टमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको डा.चौरसियाले जानकारी दिनुभयो । बेवारिशे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई स्थानीय युवाले गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । 


प्रतिक्रिया