पछिल्लो २४ घण्टामा १ हजार ५३९ जना संक्रमित थपिए

भाद्र ३१, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिनुभयो । हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट एक हजार ६८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७ सय ६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव शून्य ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

 संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना र होम आइसोलेसनमा ७ हजार ७ सय १ जना रहेका छन् । हालसम्म ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन् । २६ जनाको भेन्टिलेटरमा र १ सय ७३ जना आईसीयूमा उपचाररत छन् । 


प्रतिक्रिया