२ महिनामा पूँजीगत खर्च १ प्रतिशतमा सीमित

आश्विन २, २०७७

कोरोना माहामारीका कारण विकास निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको २ महिनामा पूँजीगत खर्च १ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजोसम्म पूँजीगततर्फ लक्ष्यको १ दशमलव ३८ प्रतिशत अर्थात ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ खर्च भएको हो ।

सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लगाएको निधेषाज्ञा लगायत विभिन्न प्रतिबन्धका कारण विकास निर्माणका कामहरु नियमित र पूर्वनिर्धारित समयमा हुन नसक्दा खर्च कम भएको अर्थमन्त्रालयले जनाएको छ ।

दुई महिनामा कर्मचारीको तलबभत्ता लगायत प्रशासनिक खर्च अन्र्तगत गरिने चालुतर्फ भने ६८ अर्ब ८० करोड १६ लाख खर्च भएको छ । यो लक्ष्यको ७ दशमलव २५ प्रतिशत हो । 

दुई महिनाको अवधिमा राजश्व संकलन भने १ खर्ब नाघेको छ । हिजोसम्म लक्ष्यको १० दशमलव ६० प्रतिशत अर्थात १ खर्ब ७ अर्ब २० करोड २४ लाख राजश्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ लाख ८४ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । 


प्रतिक्रिया