स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

कार्तिक २, २०७७ | उदयपुर

सिद्धिचरण राजर्मागको कटारी–घुर्म सडक खण्ड अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भिरमा गएराती स्कर्पियो जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ३ जना गम्भिर घाईते भएका छन् ।

भैरहवाबाट कटारी हुदै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका लागि जाँदै गरेको बा २० प ७१७१ नम्बरको स्कारपियो दुर्घटना भएको हो । मृतकमध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान भएको प्रहरी उपरिक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । 

मृतक २ पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन । अहिले शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । 

दुर्घटनामा घाइते भएका ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्कालाई थप उपचारका लागि बिराटनगर पठाइएको छ ।

ब्रेक फेल भई स्कर्पियो दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतको लद्दाखबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जव गरी घर जादै गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया