राप्रपा परित्याग गरेका थापा कांग्रेस सहमहामन्त्री मनोनित

कार्तिक २८, २०७७ | काठमाडौं

नेपाली कांग्रेसले १४ औं महाधिवेशनलाई लक्षित गरी क्रियाशिल सदस्यताको बिषय मंसिर मसान्त भित्र टुंगो लगाउने भएको छ । कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिकामा सामान्य संशोधन गर्दै कांग्रेसको आज बसेको केद्रीय कार्यसमिति बैठकले मंसिर मसान्तमा क्रियाशिल सदस्यको बिषय टुंगो लगाउने कार्यतालिका तय गरेको हो । 

यसअघिको कार्यतालिकामा भदौं मसान्त भित्र जिल्लाबाट क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने र मंसिर मसान्तसम्ममा केन्द्रीय सभापतिले सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने तालिका थियो । संस्थापन पक्षले फागुनमा महाधिवेशन गर्न नसकिने तर्क गर्दै आगामी भदौंमा साने तयारी गरेपनि इतर पक्षले भने मंसिरमा क्रियाशिल सदस्यता टुंगो लगाउन सके तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने तर्क गर्दै आएको थियो । बैठकले महाधिवेशनको अन्य कार्यतालिका भने यथावत राखेको छ ।

यस्तै बैठकले राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलकुमार थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिदै अन्य ६ जनालाई केन्द्रिय सदस्य मनोनित गरेको छ । बिष्णुविक्रम थापा, किरण गिरी, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई, बृजुलाल यादव र टीएन योगीलाई कांग्रेसले केन्द्रिय सदस्यमा मनोनित गर्दै कांग्रेसले राप्रपाबाट पार्टी प्रवेश गर्ने दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित सदस्य बनाएको हो ।

सहमहामन्त्री डा.प्रकाशसरण महतकाअनुसार, बैठकले स्याङ्जाका मोहन पाण्डेलाई समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । सांसद सूर्यबहादुर केसीको निधनपछि खसआर्य कोटामा कांग्रेसले पाण्डेलाई सिफारिस गरेको हो । 


प्रतिक्रिया