लामो बन्दाबन्दीपछि विकास खर्चमा केही सुधार

मंसिर १, २०७७ | काठमाडौं
लामो समयको बन्दाबन्दीपछि विकास निर्माणका काम सञ्चालन हुँदा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्चमा सामान्य सुधार देखिएको छ । कात्तिक मसान्त अर्थात हिजोसम्म लक्ष्यको ८ दशलमव ३४ प्रतिशत अर्थात २९ अर्ब ४४ करोड ५२ लाख पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भने लक्ष्यको ६ दशमलव अर्थात २४ अर्ब ८३ करोड ५५ लाख लाख रुपैयाँ विकास खर्च भएको थियो । सरकारले चालु आर्थिक वर्षको लागि पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजना गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा सामान्य बढेपनि कोरोना माहामारीका कारण विकास निर्माणका काम रोकिदा पुँजीगत खर्चमा अपेक्षित सुधार आउन सकेको छैन । कर्मचारीको तलबभक्ता लगायत प्रशासनतर्फ गरीने चालु खर्च भने लक्ष्यको २४ दशमलव २५ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब १२ करोड २० लाख भएको छ ।
राजश्व संकलनतर्फ पनि अघिल्लो वर्षको तुलनामा झिनो सुधार देखिएको छ । हिजोसम्म लक्ष्यको २३ दशमलव ७४ प्रतिशत अर्थात २ खर्ब ४० अर्ब १५ करोड २८ लाख रुपैयाँ राजश्व संकलन भएको महालेखाको कार्यालयले जनाएको छ ।
गत वर्षको सोही अवधिमा लक्ष्यको २२ दशमलव २८ प्रतिशत अर्थात २ खर्ब ४७ अर्ब ८० करोड ४१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ खर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।