महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु

मंसिर १०, २०७७ | काठमाडौं

महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुरु भएको छ । सन् २०३० सम्म जारी रहने सो अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म बनाईदै आएको छ । 

पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ । गत वर्ष मात्र विश्वका २४ करोड ३० लाख महिला नजिकका पुरुष साथीबाटै हिंसा भोग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको तथ्याङक छ । सो मध्ये ४० प्रतिशत महिलाले न्यायको साहारा लिएका थिए । 

पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण घरेलु हिंसामा ५ प्रतिशतले बृद्धि भएको छ । साथै विद्यालय बन्द भएपछि विवाहका लागि दवाव खेप्ने र जागिर गुमाउने महिलामाथि दुव्र्यवहार हुने गरेको राष्ट्रसंघले जनाएको छ । कोरोना संक्रमण जोखिमका बीच विश्वका १ सय ३५ राष्ट्र महिला हिंसा विरुद्ध सशक्त रुपमा उभिएका छन् ।

नेपालले पनि दिवसका अवसरमा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको एक्येवद्धता भन्ने नारा तय गरेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मुल गर्न सरकारको प्रयास पूर्ण रुपमा सफल बनाउन समाजका सबै पक्ष त्यतिकै सक्रिय हुनुपर्ने बताउनुभएको छ । घरेलु हिंसा, मानव बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मुल गर्न सबै सक्रिय हुनुपर्ने उहाँको भनाई छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासहरुका कारण समाजमा देखिने लैंगिक हिंसाको पूर्ण रुपमा अन्त्य गर्न सबैजना लाग्नुपर्ने बताउनुभएको छ । कानुनी प्रवन्धले मात्र हिंसा अन्त्य गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशिल बन्न आग्रह गर्नुभएको छ । 


प्रतिक्रिया