प्रदर्शन चर्किदै गएपछि बर्दिवासमा निषेधाज्ञा

मंसिर १०, २०७७ | काठमाडौं

बलात्कारपछि बालिकाको हत्यामा संलग्नलाई कारवाहीको माग सहित भएको प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिवासमा निषेधाज्ञा लगाएको छ । हिजो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको गएराति मृत्यु भएपछि स्थिति थप बिग्रन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज बिहान ९ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले बताउनुभयो । बर्दिवास नगरपालिका कार्यालयको पूर्वमा रातो खोला, पश्चिममा माइस्थान, उत्तरमा पाटु र दक्षिणमा बर्दिवास हाटसम्म निषेधाज्ञा जारी भएको हो । निषधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन । पुर्व पश्चिम राजमार्गमा सवारी साधन भने चल्न दिइने प्रशासनले जनाएको छ ।

ययअघि हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास–१ बुद्धिराज न्यौपानेको उपचारको क्रममा गएराति मृत्यु भएको छ । गम्भिर अवस्थामा हिजै काठमाडौं ल्याइएका उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय ६ वर्षीया गुलबसा खातुनको शव हिजो बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया