नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ४ कोरोना संक्रमित थपिए

मंसिर १६, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०३ पुरुष र ५०१ महिलामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ८३ पीसीआर परीक्षण गरिएकोमा १५ प्रतिशत बढीमा भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । 

काठमाडौं उपत्यकामा २ सय ४० महिला र २ सय ९० जना पुरुष गरी ५ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४ सय ९, ललितपुरमा ८५ र भक्तपुरमा ३६ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । यो कुल संक्रमितको ९२ दशमलब ३ प्रतिशत हो । सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जनामा झरेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।


प्रतिक्रिया