नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल सुरु

मंसिर १६, २०७७ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको छ । काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार बसेको सचिवालय बैठकमा दुबै अध्यक्षको प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष दाहालले र गत शनिबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको असहज परिस्थितिका लागि एक–अर्कालाई दोषी देखाउँदै सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए । दुबै अध्यक्षको प्रस्तावमाथि आज छलफल सुरु भएको र सो प्रस्तावमाथि औपचारिक तथा अनौपचारिक छलफल अघि बढाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मंगलबारको बैठकमा अध्यक्षद्वयले आ–आफ्नो प्रस्तावका बारेमा सचिवालय सदस्यलाई जानकारी गराएका थिए । यस्तै, बैठकमा बोल्ने सचिवालय सदस्यहरुले छलफल र संवादबाट पार्टी भित्रको जारी गतिरोध अन्त्य गर्नुपर्ने भन्दै कुनैपनि हालतमा पार्टी फुट्न नहुने बताएका थिए । 

दुबै प्रस्तावमाथि सचिवालयमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्ने प्रवक्ता श्रेष्ठको भनाई थियो । नेकपा सचिवालय बैठक भोलि दिउँसो १ बजे फेरि बस्ने छ । 

आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक सुरक्षा थ्रेटको कारण देखाउँदै बालुवाटार मै बसेको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पार्टी कार्यालय जान अनिच्छुक देखिएपछि सुरक्षा थ्रेटको कारण देखाएको नेकपाकै नेताले टिप्पणी गरेका छन् ।

सचिवालय बैठक बुधबार पुन: बस्ने गरी सकिएको छ । बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया