बागमती र प्रदेश १ मा हिउँदे अधिवेशन सुरु हुँदै

माघ ७, २०७७ | काठमाडौं

बागमती र प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । बागमती प्रदेशको बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ । यस्तै, प्रदेश १ को बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । 

दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको हो । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ । केन्द्रको असर प्रदेशहरुमा पनि देखिएको हो । दुबै प्रदेशमा नेपाली कांग्रेस निर्णायक छ । तर, कांग्रेसले अहिलेसम्म कुन पक्षलाई सघाउने निर्णय गरिसकेको छैन । यद्यपी, अविश्वासको प्रस्ताव प्रदेश सभामा टेवल भएपछि परिस्थीति हेरेर निर्णय लिने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री ओली निकट दुबै प्रदेशका मुख्यमन्त्रीले अविश्वास प्रस्ताव सामना गर्न आफूहरु तयार रहेको बताइरहेका छन् । प्रदेश १ का मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यलाई आजको बैठकमा प्रदेश गर्न नदिने तयारी गर्नुभएको छ । 

राईले यसअघि नै दाहाल–नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरिसक्नुभएको छ । हिजो बसेको बागमती प्रदेशको कार्यब्यवस्था तथा परार्मश समितिको बैठकमा अविश्वासको प्रस्ताव कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको थियो । 

सो छलफल निष्कर्षबिहिन भएपछि बागमती प्रदेशका सभामूख सानुकुमार श्रेष्ठले ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्नुभएको छ । मस्यौदा समितिको म्याद नतोकिएकाले बागमती प्रदेशमा तत्काल अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना कम छ । समितिले कार्यविधि बनाएर प्रदेशसभाबाट पारित भएपछि मात्र अविश्वासको प्रस्ताव प्रक्रियामा जाने कांग्रेस संसदीय दलका प्रमुख सचेतक छिरिङदोर्जे लामाले बताउनुभयो । 


प्रतिक्रिया