प्रदेश मन्त्रीका अंगरक्षकबाट सशस्त्र फिर्ता

माघ २९, २०७७ | जनकपूर

प्रदेश २ सरकारका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको छ । ७ वटै प्रदेशका मन्त्रीको अंगरक्षक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार फौजको नयाँ कार्यविधि अनुसार प्रदेशका मन्त्रीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको हो ।

‘सशस्त्र प्रहरीको नयाँ कार्यविधिमा प्रदेशका मन्त्रीहरुको सुरक्षामा सशस्त्र प्रहरी नखटाउने उल्लेख गरिएको छ,’ प्रवक्ता अर्यालले भन्नुभयो, ‘त्यही प्रावधान अनुसार प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो ।’

प्रदेश २ सरकारका मन्त्रीहरुका लागि मात्रै करीब ३२ जना सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार र हवल्दार खटिएका छन् । प्रदेश सरकारका अरु मन्त्रीहरुलाई २–२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानून मन्त्रीलाई पछुवा सहित ८ जना सशस्त्र प्रहरी खटाइएको थियो ।

अंगरक्षक र सुरक्षाबाट सशस्त्र प्रहरी फिर्ता बोलाइएको बारे प्रदेश २ सरकारलाई जानकारी गराइसकिएको छ । मन्त्रीको अंगरक्षकबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बिहीबार अपराह्न आकस्मिक सुरक्षा बैठक बोलाउनु भएको छ ।

बद्लिदो राजनीति घटनाक्रम लगत्तै प्रदेशका मन्त्रीहरुको सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ सरकारका मन्त्रीहरुमा अर्कै संशय देखिएको छ ।

‘प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभालाई पनि असफल बनाउने प्रयास भइरहेको बेला मन्त्रीहरुको सुरक्षाबाट सशस्त्र प्रहरीलाई झिक्नुले हामी संशकित बनेका छौं,’ प्रदेश २ सरकारका एक मन्त्रीले भने, ‘अहिलेको अवस्थामा झन् सुरक्षा मजबुत पार्नुपर्नेमा उल्टै फिर्ता बोलाउनु शंकास्पद छ ।’

सशस्त्र प्रहरीका अनुसार शुक्रबारबाट प्रदेश सरकारका मन्त्रीहरुसँग सशस्त्र प्रहरीको सुरक्षा रहने छैन । हाल प्रदेश सरकारका मन्त्रीहरुलाई नेपाल प्रहरीको सुरक्षा थप्ने तयारी छ ।


प्रतिक्रिया