'नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक'

फाल्गुन १२, २०७७ | काठमाडौं

सरकारले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले आज आयोजना गरेका एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नक्सा सार्वजनिक गर्नुभएको हो । डिजिटल नक्साको माध्यमबाट माटोमा भएको अम्लियपन, नाइट्रोजन, पोटासियमलगायत तत्व थाहा पाउन सकिने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले योसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । दक्षिण एसियामै पहिलो पटक नेपालमा डिजिटल प्रविधिमार्फत माटोको परिक्षण सुरु गरी परम्परागत प्रणालीको अन्त्य गर्न सफल भएको उहाँको भनाई थियो । नयाँ प्रणाली सुरु भएपछि परिक्षणका लागि माटो बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाई थियो ।

कृषिमा कुल जनसंख्याको दुई तिहाई बढी जनसंख्या आबद्ध हुँदा पनि राष्ट्रिय आयमा भने जम्मा २७ प्रतिशतको मात्रै योगदान रहेको भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कृषि क्षेत्रमा व्यवसायिकरण र आधुनिकिकरणको आवश्यकता औँल्याउनुभयो । कृषि क्षेत्रमा अल्झिएका युवा वर्गलाई उत्पादनशील क्षेत्रमा प्रोत्साहित गर्न अवसरको सिर्जना गर्नुपर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उहाँको भनाई थियो । 


प्रतिक्रिया