बाल संरक्षण गृह सञ्चालकबाटै बलात्कृत भएको भन्दै बालिकाद्वारा उजुरी

चैत्र १३, २०७७ | दाङ

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको बालसंरक्षण गृहमा रहेकी जुम्लाकी १४ बर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै ३१ बर्षीय बिष्णु चौधरीविरुद्ध उजुरी परेको छ । 

चौधरी बालगृह सञ्चालक संस्था असहाय बाल विकास नेपालका अध्यक्ष हुन् । आफुलाई चौधरीले ६ महिनादेखि पटकपटक बालात्कार गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख छ । पीडित बालिकालाई सेफ हाउसमा राखेर मनोपरामर्श तथा उपचार गरिएको छ । 

चौधरीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले बताउनुभयो । चौधरी २०६५ चैत १५ मा बिजौरी मै भएको अर्कौ एक सामूहिक बलात्कार मुद्दामा पनि दोषी ठहर भएका थिए । उनी २०७५ माघ ३ गते पक्राउ परी पुनरावलोकनको निवेदन दिएर ८८ दिन जेल बसेर छुटेका हुन् । 

चौधरीविरुद्ध अदालतले २०७२ फागुन ३० गते ९ बर्ष ११ महिना २ दिन कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो । बिजौरी निवासी चौधरी माओवादी केन्द्र निकट बिद्यार्थी संगठनका नेता समेत हुन् ।

यसैबीच, बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो । बालसंरक्षण गृहमा ९ बालक र ७ बालिका छन् ।   


प्रतिक्रिया