सिद्धबाबालाई १५ दिनभित्र उच्च अदालतमा उपस्थित गराउन आदेश

चैत्र १३, २०७७ | विराटनगर

उच्च अदालत विराटनगरले बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउने आदेश दिएको छ ।

 न्यायाधीशद्वय प्रेमराज ढकाल र रेनुका शाहको आज बसेको संयूक्त इजलासले १५ दिनभित्र झगडिया झिकाउन आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताउनुयभो ।

‘सुरु जिल्ला अदालत सुनसरीको फैसला उपर भएको पुनरावेदनमा मिसिल तामोली गरी शुक्रबार पेशी तोकिएको थियो,’ उहाँले भन्नुभयो, ‘पेसीमा न्यायाधीशद्वयको संयूक्त इजलासले प्रत्यार्थी सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीलाई बाटोको म्याद बाहेक १५ दिनभित्र उपस्थित गराउने आदेश भएको छ ।’

म्याद जारी भएपछि सिद्धबाबा उपस्थित नभएको अबस्थामा प्रहरी लगाएर झिकाई अदालतमा पुन: बयान लिएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने सुवेदीले बताउनुभयो ।

सिद्धबााबालाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सहमतिमा भएको सम्पर्कलाई करणी भन्न नमिल्ने फैसला गरेको थियो । फैसलाको पूर्णपाठमा जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने नदेखिएको उल्लेख छ ।

फागुन २८ गते उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदनका लागि निवेदन दर्ता गराएको थियो ।

२०७६ कात्तिक ४ गते राती सिद्धबाबाले करणी गरेको भनी २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आश्रममा बस्दै आएका छन् ।


प्रतिक्रिया