सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ

चैत्र २७, २०७७ | काठमाडौं

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताले यसअघि सम्हालेकै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सपथ लिएका छन् । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यलयमा आज आयोजित कार्यक्रममा चारै जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन् । 

टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, लेखराज भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रभु साहले शहरी विकास मन्त्रालय र गौरीशंकर चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनीहरुले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।

 माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि माओवादीले सांसदबाट हटाएको थियो । माओवादी केन्द्रको सिफारिसमा हिजोबाट चारै जनाको सांसद पद खोसिएको थियो । सांसद पद हटेसँगै उनीहरुको मन्त्री पदपनि हिजोबाटै सकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ प्रयोग गर्दै चारै जनालाई आफ्नो मन्त्रीमण्डलमा पुन मन्त्री बनाउनुभएको हो । सो धारामा भएको व्यवस्था अनुसार ६ महिनाभित्र उनीहरु संघीय संसद सदस्य हुनुपर्नेछ । अन्यथा ६ महिनापछि उनीहरुको मन्त्री पद सकिन्छ ।  


प्रतिक्रिया