मुलुकको अर्थतन्त्र १ खर्ब डलरको पुर्‍याउने लक्ष्यसहितको मार्गचित्र सार्वजनिक गरिदै

चैत्र २८, २०७७ | काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्ष भित्र मुलुकको अर्थतन्त्र १ खर्ब डलरको पुर्‍याउने लक्ष्यसहितको मार्गचित्र आज सार्वजनिक गर्दैछ । महासंघको आज शुरु हुने ५५ औं बार्षिक साधारण सभाको अवसर पारेर सो मार्गचित्र सार्वजनिक गर्न लागिएको हो । 

राष्ट्रिय आर्थिक रूपान्तरण नाम दिइएको मार्गचित्रमा मुलुकको अर्थतन्त्र दोहोरो अंकले वृद्धि गर्दै आगामी दश वर्ष भित्र १ सय अर्व डलरको पुर्‍याउने र दीगो उच्च आर्थिक वृद्धि मार्फत अतिरिक्त २२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ । ती लक्ष्यलाई पुरा गर्ने वलियो आधार र सुझावहरु समेत मार्गचित्रमार्फत दिइने महासंघले जनाएको छ । ती लक्ष्य पूरा गर्न महासंघले सरकारी प्रतिवद्धता समेत लिने भएको छ ।

भिजन पेपरमा १० प्राथमिकता प्राप्त क्षेत्र र एक सय पहल पहिचान गरिएको छ । भिजन पेपर कार्यान्वयन गर्न महासंघले एउटा छुट्टै युनिट स्थापना गरेको जनाएको छ ।

निजी क्षेत्र नभई समृद्धि सम्भव नहुने भन्दै महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडको चुनौतीपूर्ण समयमा मार्गचित्र ल्याउन लागिएको बताउनुभयो । नेपालको परिप्रेक्ष्यमा मुख्यत: तीन वटा क्षेत्र कृषि, उद्योग र सेवाले भूमिका खेलेको महासंघको ठम्याई छ ।

कृषि क्षेत्रले अर्थतन्त्रमा २७ प्रतिशत ओगटेको छ । ६५ प्रतिशत रोजगारी सिर्जना गरेको र यसको औसत वृद्धिदर ३ देखि ३ दशमलव २ प्रतिशत रहेको मार्गचित्रमा उल्लेख छ । उद्योगले अर्थतन्त्रमा १४ दशमलव २८ प्रतिशत योगदान गरेको, यस क्षेत्रबाट १५ दशमलव १० प्रतिशतले रोजगारी पाएको र औसत वृद्धिदर ६ दशमलव ८ प्रतिशत रहेको उल्लेख छ । सबैभन्दा ठूलो भने सेवा क्षेत्र नै हो । यसले अर्थतन्त्रमा ५८ दशमलव ०७ प्रतिशत योगदान गरेको जनाइएको छ । २० प्रतिशत रोजगारी र ५ दशमलव ५ प्रतिशतले वृद्धिदर रहेको मार्गचित्रमा उल्लेख छ ।


प्रतिक्रिया