व्यापार असन्तुलन घटाउन सरकार गम्भीर : प्रधानमन्त्री

चैत्र २८, २०७७ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग–व्यवसायलाई अगाडि बढ्न बाधा पार्ने कानूनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताउनु भएको छ । महासंघको ५५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको औद्योगिक विकासका बाधक, ऐन नियम र कानून प्रतिकूल भए तीनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता जनाउनुभयो । 

मुलुकले लामो समयदेखि चुनौतीको रुपमा सामाना गर्नु परेको व्यापार घाटाको नियमित वृद्धिमा हाल नियन्त्रण हुँदै गएको उल्लेख गर्दै उहाँले व्यापार असन्तुलन घटाउने तर्फ सरकार गम्भीर भएको लागेको बताउनुभयो ।

 मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढिरहेको भन्दै उहाँले मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी–व्यवसायीलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट पार्नुभयो ।

प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने भन्दै प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अग्रसर हुन उद्योगी व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै उहाँले लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गर्नुभयो । 


प्रतिक्रिया