ओलीमा दक्षिणपन्थी प्रवृति हाबी : खनाल–नेपाल समूह

चैत्र ३०, २०७७ | काठमाडौं

नेकपा एमालेको नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पार्टी विघटन तर्फ उद्दत रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय भेलाका निर्णय समेटेर नेता नेपालले जारी गरेको सर्कुरलमा ओलीको कदमले पार्टीमा गम्भीर संकट उत्पन्न भएको उल्लेख छ । 

फागुन २३ गते सर्वोच्च अदालतले पूर्ववत अवस्थामा फर्काइ दिएपछि ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पारेको सर्कुलरमा जनाएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि एमाले २०७५ जेठ ३ गते अगाडीको अवस्थाबाट अगाडि बढ्नुपर्ने अडान राखेको उल्लेख छ । 

तर ओलीको दक्षिणपन्थी प्रवृत्ति एमालेलाई विघटन गर्नेतर्फ उद्दत रहेको सर्कुलरमा आरोप लगाइएको छ । ओली पक्षको गत फागुन २८ गते बसेको केन्द्रीय कमिटीले गरेको निर्णयले एमालेको नवौं महाधिवशेनको म्यान्डेड नै ध्वस्त बनाएको उल्लेख छ । 

ओलीले एकलौटी तरिकाले गरेका निर्णय पार्टीको विधि विधान र आम कार्यकर्ताको भावना विपरीत भएकाले पनि सच्याउन आवश्यक रहेको नेता नेपालको सर्कुलरमा जनाएको छ । नेता नेपालले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय अनुसार कार्यकर्तालाई परिचालित हुन सर्कुलर मार्फत निर्देशन समेत दिनुभएको छ ।  


प्रतिक्रिया