संसदमा सरकारविरुद्ध खनिए विपक्षी दल

चैत्र ३०, २०७७ | काठमाडौं

सत्तासमर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सरकारको तीब्र आलोचना गरेको छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उनीहरुले सरकारको आलोचना गरेका हुन् । 

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसदलाई जुहारी खेल्ने थलो नबनाउन आग्रह गर्नुभयो । उहाँले संसद्मा दिनहुँ जुहारी गरेर जनताका विषय ओझेलमा परेको बताउनुभयो । पछिल्लो समय सरकारका क्रियाकलाप सन्तोषजनक नभएको, भ्रष्ट्राचार मौलाएको, विकासको गतिमा सुस्त भएको नेता गिरीको भनाइ थियो ।

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रधानमन्त्री केपी ओली भ्रमबाट मुक्त नभएसम्म मुलुकको नियति नफेरिने बताउनुभयो । ब्रह्माण्डको सत्य आफूभित्र कैद रहेको भन्ने भ्रमबाट प्रधानमन्त्री ओली मुक्त हुनुपर्ने उहाँले आरोप लगाउनुभयो । 

प्रधानमन्त्रीले कुनै पनि विषयमा विज्ञ र विषयका जानकारको सल्लाह नलिने गरेको पनि बस्नेतको भनाइ थियो । माओवादी केन्द्र कै नेता गजेन्द्र महतले सरकारले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारेको आरोप लगाउनुभयो । 

सत्तारुढ एमालेका सांसद घनश्याम खतिवडाले अविश्वासको प्रस्ताव राख्न नसक्नेहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको बताउनुभयो । उहाँले संसदले काम पाएन भन्ने धेरै भएपनि संसद मै धेरै विधेयक चाङ लागेर बसेको र त्यसलाई छलफल नगरिएको आरोप लगाउनुभयो । प्रतिनिधि सभाको अर्को बैठक आगामी बैशाख ७ गतेका लागि बोलाइएको छ ।


प्रतिक्रिया