रोल्पामा फैलिएको आगो अझै नियन्त्रणमा आएन, ४० घरगोठ घर नष्ट

वैशाख १५, २०७८ | रोल्पा

रोल्पाको त्रिवेणी–२ नुवागाउँस्थित सामुदायिक वनबाट फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन । दर्जन सामुदायिक वनमा फैलिई छिमेकी गाउँपालिका रुन्टीगढीको जंगलबाट सल्किएको आगोबाट कम्तीमा ४० घरगोठ जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार तीन दिनअघिदेखि आगो सल्किएको हो । साविकको नुवागाउँ–१ धानबाङबाट सल्किएको आगो आज विहानसम्म सखी पुगेको छ । आगलागीबाट मानवीय क्षति नभएपनि ३ दर्जन बढी चौपाया तथा आधा दर्जन गाउँका घर र घरभित्रका सबै सामान जलेर नष्ट भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

नियन्त्रणबाहिर रहेको आगो धानबाङ हुँदै सानो चेत्रे, कापडाँडा, पिराले, पिउरी हुँदै फैलिएको हो । यस्तै, रुन्टीगढी गाउँपालिकाको सखी, गुनाम, करेटी र सर्पालतर्फ फैलिरहेको छ । आगो नियन्त्रणमा लिन नसके ह्याङ, करेटी, गुनाम, सखी र सर्पालमा रहेका कम्तीमा १ सय घर उच्च जोखिममा रहेको स्थानीय इश्वरी घर्तीमगरले बताईन् । दहवन र रामपुर गाउँ पनि जोखिममा छन् । प्रहरीले आगलागीको सम्पूर्ण क्षति विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ । 

करिब २ सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको हो । आगो नियन्त्रणमा लिन होलेरी, नुवागाउँ, जुगारबाट प्रहरी पुगेको छ । नेपाली सेनाको दहवनस्थित गुल्मबाट सेना समेत परिचालित भएका छन् । सल्लाको रुख भएकाले र पानी पर्याप्त मात्रामा पाउन नसकिने भएकाले आगो नियन्त्रणमा ल्याउन समस्या भएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया