लुम्बिनीमा एमालेको एकल सरकार बनाउने गृहकार्य सुरु

वैशाख १९, २०७८ | लुम्बिनी

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा एमाले आफैं एकल सरकार बनाउने गृहकार्यमा जुटेको छ । पोखरेलको राजीनामा पछि बसेको एमाले संसदीय दलको बैठकले संविधानको धारा १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले एकल सरकारको मुख्यमन्त्री पनि दलका नेता पोखरेललाई नै बनाउने निर्णय भएको बताउनुभयो ।

यसैबीच तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोज्नु भएको छ । वलीले माओवादी रोजेसँगै प्रदेश सभामा एमालेको बहुमत नपुग्ने भएको छ । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । जसपाका ४ र माओवादीका २ सांसद निस्काशनमा परेपछि अहिले प्रदेश सभा ८१ सदस्यमा खुम्चिएको छ । वलीले माओवादी रोजेपछि प्रदेश सभामा एमालेको ४० सिट मात्रै भएको छ । योसँगै एमालेको एकल सरकार बन्ने सम्भावना न्युन भएको छ ।

मुख्यमन्त्री पोखरेलले आजै बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएको थियो । प्रदेश प्रमुखले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मन्त्रीपरिषदको कार्यभार सञ्चालन गर्ने जिम्मेवारी मौजुदा सरकारलाई नै दिनुभएको छ ।


प्रतिक्रिया