राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता हुँदै

वैशाख २४, २०७८ | काठमाडौं

बाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बाग्मती प्रदेशको राजधानी हेटौँडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ ।

बाग्मती प्रदेशबाट निर्वाचित रामबहादुर थापालाई माओवादी केन्द्रले कारवाही गरेपछि सो पद रिक्त भएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उहाँलाई पार्टीले कारवाही गरेको हो । राष्ट्रिय सभाको रिक्त पदमा निर्वाचन भने आगामी जेठ ६ गते हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिका प्रमुख, उपप्रमुख,र गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत गरी २ सय ३८ गरि कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउनेछन् ।

निर्वाचनमा प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र र सत्तारुढ एमालेकै नेपाल–खनाल समूहले संघीयताका जानकार खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । एमालेले भने अहिलेसम्म रामबहादुर थापालाई नै उम्मेदवार बनाउने तयारी गरेपनि पार्टी समीकरण नमिलेर जित्ने अवस्था नआए अर्को उम्मेदवार खडा गर्ने तयारी गरेको छ । 


प्रतिक्रिया