तत्काल कोभिशिल्ड खरीद गर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

वैशाख २४, २०७८ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था अहिलेलाई नरहेको भन्दै जिम्मेवारीबाट पन्छिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्युट अफ इण्डियामा आगलागी भएकाले उत्पादन क्षमता विस्तारमा अवरोध भएको भन्दै थप ५० लाख खोप खरिद गर्ने अवस्था हाललाई नरहेको उल्लेख गर्नु भएको छ । 

यस्तै नेपाल सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको बाँकी १० लाख खोप आयात बारे पनि मन्त्रालय अन्यौलमा छ । मन्त्रालयका प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा प्रतिखोप ४ डलरका दरले भारतलाई भुक्तानी दिइएपनि सो बारे अझै टुंगो नलागेको उल्लेख गर्नु भएको छ ।

कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने पनि प्रवक्ता गौतमले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । मन्त्रालयकै एकजना प्रमुख विशेषज्ञका अनुसार स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला सबैको निर्णय पश्चात खोप खरिद प्रक्रिया अघि बढाइन्छ । तर प्रवक्ता गौतमले भने स्वास्थ्य सेवा विभागले आफैं निर्णय गरेर कोभिसिल्ड खोप आयात गरेको उल्लेख गर्नु भएको छ ।

सरकारले खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख डोज गत फागुन ९ गते नै नेपाल ल्याइए पनि करिब २ महिना बितिसक्दा पनि बाँकी मात्रा ल्याउने टुंगो हुन सकेको छैन । कोरोना संक्रमणको दर उच्च बने पनि सरकारले खोप आयात प्रक्रियामा थप रणनीति नअपनाएको देखिएको छ ।

 चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज भेरोसेल खोप पनि विभिन्न बहाना देखाउँदै बैशाख १६ गतेदेखि नै लगाउन बन्द गरिएको छ । यसअघि पनि मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेको भन्दै अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने जनाएको थियो । 


प्रतिक्रिया