दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

वैशाख २४, २०७८ | काठमाडौं

सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पुर्पक्ष थुनाको साटो ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । 

बस्न्यात सरहका अरु प्रतिवादीहरु साधारण तारेख वा धरौटीमा छुटेको भन्दै सर्वोच्चले मानवीय दृष्टिले अनुचित हुने भन्दै धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आरोपित बस्न्यात ६९ वर्षको जेष्ठ नागरिक भएको, उनमा मुटुको समस्या, उनी र परिवारका सदस्यसमेत कोभिडबाट संक्रमित भई उपचार गराइरहेकाले थुनामुक्त गर्न आदेश दिएको हो । विशेष अदालतले बस्न्यातलाई गत मंसिरमा पुर्पक्षका लागि थुनामा पठाएकोमा त्यसविरुद्ध बस्न्यात सर्वोच्च अदालत गएका थिए । 

त्यो मुद्दाको पालो नआउँदै कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि सर्वोच्च अदालतमा उनको निवेदनको पालो आएको थिएन । कारागारमै रहेको बेलामा स्वास्थ्य समस्या देखिएपछि बस्न्यातले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले हिजो उनले सर्वोच्च अदालतमा दिएको निवेदन अनि विशेष अदालतको मिसिल पनि साथै राखी आज पेस गर्न आदेश जारी गरेको थियो । बस्न्यात तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव हुँदा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गराउन भूमिका खेलेको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्धा दायर गरेको थियो । 


प्रतिक्रिया