खनाल–नेपाल समुहले दियो प्रधानमन्त्रीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

वैशाख २६, २०७८ | काठमाडौं

नेकपा एमाले खनाल–नेपाल समुह पार्टी अध्यक्ष केपी शर्मा ओली प्रति लचिलो बनेको छ । खनाल—नेपाल समुहले संयुक्त राजिनामाको तयारी गरेपछि नेता विष्णु पौडेल र सुवास नेम्बाङ माधव कुमार नेपाललाई भेट्न पुग्नुभएको थियो । 

दुबै पक्षबीचको छलफलपछि बसेको खनाल-नेपाल समुहका सांसदहरुको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आफ्ना माग पुरा गर्न १३ घण्टे अल्टिमेटम दिएको छ । बेलुकी अबेरसम्म सिंहदरबारमा बसेको सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा सहमतिमा अघि बढ्ने प्रतिबद्धता जनाए भोली संसदमा प्रधानमन्त्रीको विश्वासको मतका पक्षमा मतदान गर्ने निर्णय भएको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । 

नेता चौधरीले प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई भोली बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको र भने बमोजिम प्रतिवद्धता नआए सयुक्त राजीनामा दिने सहमति भएको नेता चौधरीले बताउनुभयो । खनाल—नेपाल समूहले भोली बिहान साढे ९ बजे संसद् सचिवालयमा पुन: बैठक बोलाएको छ ।


प्रतिक्रिया