पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक १ सय ३९ जनाको मृत्यु

वैशाख २७, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण एक सय ३९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले / सीसीएमसी तथा नेपाली सेनाले कोभिड १९ को शव व्यवस्थापन तथ्याङको आधारमा कोरोना संक्रमणबाट मृत्यु भएको संख्या अध्यावधिक गरिएको जनाएको छ । सोही अवधिमा ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ३ हजार ६ सय ७ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ७ सय ७५ ललितपुरमा ५ सय ५ र भक्तपुरमा ३ सय २७ जना छन् । उपत्यका बाहिर ५ सय बढी संक्रमित पुष्टी हुनेमा रुपन्देही छ । त्यहाँ ५ सय ३० जनामा संक्रमण पुष्टी भएको छ ।

होम आइसोलेसनमा ८६ हजार ४ सय २६ र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय १५ गरि मुलुकभर सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ पुगेको छ । काठमाडौं उपत्यकामा ३७ हजार ४ सय ६३ जना छन् । आईसीयुमा ९ सय १० तथा भेन्टिलेटरमा २ सय ९५ जना रहेको मन्त्रालयले जनाएको छ ।

उपचारका क्रममा ५ सय बढी रहेका जिल्लाहरु मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (पूर्व तथा पश्चिम), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कंचनपुर र बैतडी गरि २९ जिल्ला छन् । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५९ पुगेको छ । 


प्रतिक्रिया