आज रातो मत्स्येन्द्रनाथको रथ तानिदै

जेष्ठ १, २०७८ | काठमाडौं

वर्षा तथा सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो तानिदैछ । कोभिड–१९ को दोस्रो लहरका कारण जारी निषेधाज्ञाले गर्दा रथलाई सांकेतिक रुपमा ५० मिटर जतिमात्रै तानेर जात्रा गर्न लागिएको हो ।

 परम्परा अनुसार आज रथ ललितपुरको पुल्चोकबाट तानेर पाटन गा:बहालमा पुर्‍याइन्थ्यो । तर, महामारीका कारणले सिमित व्यक्ति र बाजागाजासहित हाल रथ रहेको स्थानबाट केही पर तानेर टुंगाइनेछ । रातो मत्स्येन्द्रनाथलाई जेठ ५ गते मात्र बुङ्मती लगिनेछ ।

जात्रालाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय ललितपुरले मत्स्येन्द्रनाथ र मीननाथको रथ रहेको स्थानबाट आजबाट लागू हुने गरी ५ गते बुधबारसम्मका लागि ५ जना भन्दा बढी व्यक्तिहरु भेला हुन नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । 

निषेधित क्षेत्र मत्स्येन्द्रनाथ रहेको स्थानबाट पुल्चोकबाट पूर्वमा मदन स्मारक स्कुल चोक, पश्चिममा जुद्धवारुण यन्त्र कार्यालय र दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडीको चोक र उत्तरमा लविम मल तोकेको छ । मिननाथको रथ रहेको स्थानबाट पूर्वमा गणेशस्थान मन्दिर, पश्चिममा ट:वहाल चोक, दक्षिणमा इर्तिचोक र उत्तरमा टंगल र चक्रबहिल गल्ली तोकेको छ । 

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले हुलदंगा हुन सक्ने भएकाले शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले निषेधित क्षेत्र जारी गरेको बताउनुभयो । गुठी संस्थान ललितपुर शाखा प्रमुख खिमा वलीले बुङमतीमा देवता पुर्‍याउनुअघि मत्स्येन्द्रनाथ र मिननाथका गर्नुपर्ने सम्पूर्ण विधिविधान पूरा गरिने बताउनुभयो । 


प्रतिक्रिया