नेपाललाई आपतकालीन सहयोग आवश्यक: डब्लूएचओ

जेष्ठ १, २०७८ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लूएचओले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेको बताएको छ ।

स्विजरल्याण्डको जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताउनुभएको हो । घेब्रेससले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताउनुभएको छ । घेब्रेससले पहिलोभन्दा दोस्रो लहर झनै घातक रहेको बताउनुभयो ।

यसैबीच, नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक सरा बेयसोलो न्यान्तिले नेपालमा कोरोना भाइरसको संक्रमण उच्च विन्दुमा रहेको उल्लेख गर्दै नेपाललाई खोप पठाउनको डब्लूएचओलाई आग्रह गर्नुभएको छ । उहाँले आफ्नो ट्वीटरमार्फत निर्देशक घेब्रेससलाई आग्रह गर्नुभएको हो । उहाँले नेपालको जोखिम भारतको भन्दा फरक भएको उल्लेख गर्दै हिजो पनि नेपाललाई तत्काल सहयोगको लागि अपिल गर्नुभएको थियो ।

केही दिन अघिमात्र नेपाललाई सहयोग गर्नको लागि भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले उहाँलाई फोन गर्नुभएको थियो । 


प्रतिक्रिया