अत्यावश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन कार्यविधि जारी

जेष्ठ ७, २०७८ | काठमाडौं

सरकारले कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्था सहज बनाउन कार्यविधि जारी गरेको छ । 

भन्सार विभागले अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्रीको आपूर्ति सहज बनाउन कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाचपास कार्यविधि २०७८ जारी गरेको हो । 

भन्सार कार्यालयबाट शीघ्र जाँचपासका लागि विभागले २१ स्वास्थ्य सामाग्रीहरुलाई अत्यावश्यकको सूचिमा राखेको छ । त्यसमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्यांकसहित अक्सिजनसग सम्बन्धित विभिन्न उपकरण रहेका छन् । यस्तै आईसीयू बेड, रेमडिसिभिर, भेन्टिलेटर हेलमेट, आइसीयु मोनिटर, लगायत छन ।

उल्लेखित मालवस्तु नाकामा आइपुग्नेबित्तिकै भन्सार अधिकृतले उच्च प्राथमिकताका साथ छिटो जाँचपास गरेर सम्बन्धित ठाउमा जान दिने व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । आपूर्ति व्यवस्थालाई सहज एंव शीघ्र बनाउन भन्सार कार्यालयको नियमित समयभन्दा अघिपछि र सार्वजनिक विदाको दिनमा पनि जाँचपास गर्ने व्यवस्था मिलाउनुपर्ने पनि कार्यविधिमा उल्लेख छ । 

सो प्रयोजनका लागि भन्सार कार्यालयको प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाई खडा गरि कर्मचारी खटाउन सक्ने भएको छ । अत्यावश्यक मालवस्तुहरुको पनि गुुणस्तर प्रमाणित गरेर मात्र जाँचपास गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । 


प्रतिक्रिया