प्रदेश १ मा ३५ अर्बको बजेट ल्याउने तयारी

जेष्ठ १७, २०७८ | विराटनगर

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेशमा कोरोना महामारीको असर रहेकाले प्रदेशवासीको जीवन रक्षाका लागि कोरोना केन्दित्र बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।

प्रदेश सरकार गठन भएपछि एउटा पूरक र तीन वटा पूर्ण बजेट ल्याएर कार्यान्वयन गरिसकेको छ । तर त्यसको प्रतिफल हालसम्म प्रदेशबासीले अनुभुति गर्न सकेका छैनन् । कोरोना महामारीले तहसनहस भएको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याउनुपर्ने अर्थ विज्ञ प्राध्यापक डाक्टर वेदराज आचार्य सुझाउनुहुन्छ । प्रदेश योजना आयोगका सदस्य डा. पूर्णकुमार लोक्समले १५ औं पञ्च वर्षिय योजना र प्रदेशको पहिलो पञ्च वर्षिय योजनालाई मार्गनिर्देशक सिद्धान्त मानेर आउँदो वर्षका लागि कोरोना महामारीको दोस्रो र तेस्रो लहरसँग जुद्धन बजेट केन्द्रित हुने बताउनुभयो । 

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेशवासीको जीवन रक्षाका साथै कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न कोरोना केन्द्रित बजेट ल्याउने तयारीमा रहेको बताउनुभएको छ । आगामी वर्षको बजेटमा कृषि, शिक्षा, पर्यटन प्रबद्र्धन, उद्योग, बाणिज्य, महिला, युवा, अल्पसंख्यकलाई प्राथमिकतामा राखेर बजेट ल्याउने उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ४७ हजारको बजेट ल्याएको थियो । जसमा १५ अर्बको स्रोत नै सुनिश्चित हुन सकेको छैन । 


प्रतिक्रिया