प्रदेश १ सरकारलाईं माओवादीको समर्थन फिर्ता

जेष्ठ २३, २०७८ | विराटनगर

माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र आज दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

 पत्रमा मुख्यमन्त्री शेरधन राई संसद र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल भएको, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले मुख्यमन्त्री र सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलको गत चैत १६ गतेको निर्णयले दलको नेतालाई सरकारको समर्थन फिर्ताको प्रत्यायोजित अधिकार अनुसार समर्थन फिर्ता लिएको आङ्बोले बताउनुभयो ।

 प्रदेश १ सभामा माओवादी केन्द्रका १५ सांसद छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि एमालेको एकल बहुमत छ । ९२ सदस्यीय प्रदेश सभामा एमालेको ५१ जना सांसद छन् । सरकारबाट समर्थन फिर्ता लिएपछि भोलि दिउँसो २ बजेबाट सुरु हुने बजेट अधिवेशनमा प्रदेश सभा सचिवलायले माओवादी केन्द्रका लागि छुट्टै बसाइको व्यवस्थापन मिलाएको छ । 


प्रतिक्रिया