गण्डकीको प्रदेश सभा बैठक आज बस्दै

जेष्ठ २७, २०७८ | पोखरा

गण्डकी प्रदेश सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि ठूलो दलको हैसियतले गुरुङले गत बैशाख २९ गते पुन: मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । 

संवैधानिक व्यवस्था अनुसार उहाँले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उहाँले अस्ति मंगलबार विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । 

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा सत्तारुढ एमालेका २७, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुख सहित १२, जनता समाजवादी पार्टी (जसपा)का २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । 

कांग्रेस र माओवादीले विपक्षमा मत दिन ह्रवीप जारी गरेका छन् । यस्तै, जसपा र जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् । तर, जनमोर्चाका कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने धारणा सार्वजनिक गरिसक्नुभएको छ । 

थापाले पक्षमा मतदान गरे विपक्षीमा ३० जना सांसद हुनेछन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । स्वतन्त्र सांसद दीपक मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गर्नुभएको छ । 

मनाङेले मात्र विपक्षीलाई सहयोग गरे कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना देखिन्छ । विपक्षी गठबन्धनले सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा गराउने तयारी समेत गरेको छ ।


प्रतिक्रिया