हावाहुरीका कारण कुशे पाटनमा ७ जना बेपत्ता

असार ३, २०७८ | जाजरकोट

जाजरकोटमा चलेको तीब्र हावाहुरीका कारण कुशे पाटनमा पशुचौपाय छोड्न पुगेका ७ जना बेपत्ता भएका छन् । उनीहरुसँगै सो पाटनको जलजला पुगेका अन्य ४ जना भने घर फर्किएका छन् । 

ती ४ जना घर फर्किएपछि गत मंगलबारदेखि अन्य ७ जना बेपत्ता भएको खुलेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । पाटन क्षेत्रबाट कुशे गाउँपालिका ८, औलरिजाका ३५ बर्षीय डिलबहादुर खड्का, २५ बर्षीय विक्रम खड्का, २८ बर्षीया चन्द्रा खड्का, १८ बर्षीय भविन्द्र खड्का, १२ बर्षीय मीमबहादुर खड्का, १० बर्षीया धनसरा खड्का र कुशे ९ का ४० बर्षीय कृष्ण रोकाय बेपत्ता भएका हुन् ।

उनीहरु गत सोमबार पाटन पुगेका थिए । बेपत्ताको खोजी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक शिव कुमार क्षेत्री सहित ७ जनाको प्रहरी टोली पाटन तर्फ गएको प्रहरी प्रमुख थापाले वताउनुभयो । घटनास्थल रहेको कुशे हिमालको जलजला पाटनमा पुग्न प्रहरी चौकी पैंकबाट दुई दिन पैदल हिड्नु पर्छ । 

भारी बर्षात र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिनाई भएको उहाँले वताउनुभयो । प्रतिकुल मौसम, हाइ अल्टीच्युट, कठिन भुगोल, टेलिफोन सुविधा नहुनु लगायत कारण वेपत्ताको खोजी गर्न चुनौती भएको उहाँको भनाई छ । हावा हुरी र चटयाङ्गले कुशे पाटनमा १० भैसी, २२ गाई र ५५ भेडाबाख्रा मरेका छन् । 

भेडा बाख्रा लगायत पशु चौपाया चरीचरण गर्ने कुशे पाटन ४ हजार देखि ४ हजार ८ सय मिटरको उचाईमा छ । कुशे गाउँपालिकाका स्थानीयले जेठ देखि भदौसम्म पशु चौपाया चरीचरणका लागि कुशे पाटनमा राख्ने गर्दछन् ।   


प्रतिक्रिया