हवाई उडान सञ्चालनको तालिका र मिति निर्धारण गरिदै

असार ९, २०७८ | काठमाडौं
आन्तरिक हवाई उडान खुल्ला गर्ने निर्णय गरेको सरकारले आज त्यसको मिति तय गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सरोकारवालाहरुसँग आज बैठक गरी आन्तरिक उडानको मिति तय गरिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिनुभयो ।
तालिका र उडानको सूची जति छिटो अनुमतिका लागि प्राधिकरणमा पठाइन्छ त्यती नै चाडो उडान शुरु हुने प्रबक्ता उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनभयो । मन्त्रिपरिषद्को अस्ती सोमबार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुन: सञ्चालन गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिनेछ ।
अन्तर्राष्ट्रियतर्फ पनि नियमित हवाई उडान संख्या थप गर्ने निर्णय भएको छ । काठमाडौ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । इस्तानबुलमा साताको दुई, दुबईमा चार, दमाममा दुई, कुवेतमा दुई, मस्कटमा एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौँ–छेन्दु र ग्वाङजाओमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ ।
आन्तरिक र हवाई उडान अवरुद्ध हुँदा विमानस्थललाई मात्रै मासिक करिब ८५ करोड राजश्व घाटा भएको छ । सामान्य अवस्थामा मासिक करिब ९० करोड राजश्व उढ्ने गरेकोमा हाल ४/५ करोड मात्रै उठिरहेको प्राधिकरणका उपमहानिर्देशक क्षेत्रीले जानकारी दिनभयो ।