माथिल्लो तामाकोशी उत्पादन शुरु, प्रधानमन्त्रीले उद्धघाटन गर्दै

असार २१, २०७८ | काठमाडौं

निर्माण शुरु भएको ११ वर्षपछि बहुचर्चित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले उत्पादन थालेको छ । पहिलो युनिटबाट ७६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिएसँगै स्वदेशी लगानीको तामाकोशीले औपचारिक रुपमा विद्युत उत्पादन सुरु गरेको हो । 

आयोजनाले २ सय २० र १ सय ३२ केभी देवीटार सबस्टेशनबाट पहिलो युनिटको ७६ मेगावाट उत्पादन विद्युत राष्ट्रिय प्रशारण लाईनमा पठाएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । एक सातापछि पुन: दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनामा कुल ६ वटा विद्युत् उत्पादन युनिट छन । यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आएसँगै वर्षायाममा नेपाल विद्युतमा आत्मनिर्भर बन्ने विद्युत प्राधिकरणले जनाएको छ ।

नेपालका आन्तरिक जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालन हुने वर्षायाममा पनि नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक २ सय मेगावाट विद्युत आयात गरिरहेको छ । माथिल्लो तामाकोसी आयोजनाका दुई वटा युनिटबाट उत्पादन हुने विद्युत नेपालको आन्तरिक खपतका लागि उपयोग हुने प्राधिकरणले जनाएको छ । ढल्केबर–मुजफफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्ने प्राधिकरणको तयारी छ  । तर यसका लागि प्राधिकरणले हालसम्म भारतीय पक्षबाट अनुमति पाइनसकेको प्राधिकरणले जनाएको छ ।

माथिल्लो तामाकोशीको प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर भर्चुअल रुपमा आयोजनाको उद्धघाटन गर्ने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । असारसम्ममा कम्तिमा ३ वटा युनिटबाट २ सय २८ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिने तालिका रहेको छ । 

आयोजनाबाट बार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रिबाट बार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने जनाएको छ । ३५ अर्ब ३३ करोडमा निर्माण सकिने भनिएको आयोजनाको लागत बढेर ८५ अर्ब पुग्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया