जनगणनाको पहिलो चरण सुरु/ ७७ जिल्लामा एकैसाथ घरपरिवारको सुचिकरण हुने

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७८ | काठमाडौं

केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत देशैभरका ७७ जिल्लामा एकैसाथ घर तथा घरपरिवारको सुचिकरण आजबाट सुरु गरेको छ । त्यसका लागि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको कन्द्रिय तथ्यांक विभागले जनाएको छ । गत आइतबार र सोमबार तालिम लिएका सुपरिवेक्षकलाई विभागले सुचिकरणका लागि खटाएको हो । आगामी असोज १८ गतेसम्म चल्ने सुचिकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको विवरण संकलन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

सुचिकरणमा घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएको विवरण लिइनेछ भने व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत उतारिनेछ । त्यसैगरी, सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइने विभागले जनाएको छ ।

मूल जनगणना कार्य भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको छ । जनगणना अर्न्तगत ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने तथ्यांक विभागले जनाएको छ । 


प्रतिक्रिया