मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मत्यु, १४ घाईते (अपडेट)

आश्विन २६, २०७८ | मुगु

दशैं मनाउन नेपालगन्जबाट घर फर्केका यात्रु सवार भे १ ख ३१६८ नम्बरको बस मुगुको छाँयानाथ रारा नगरपालिका–७ मा दुर्घटनामा परेको छ । दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् । घाईतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ । 

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ७ महिला, १३ पुरुष र एक बच्चाको मृत्यु भएको छ । अधिकांश घाइतेहरु गम्भीर छन् । मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत नभएको उहाँले जानकारी दिनुभयो । 

कठिन र भिरालो भूगोल भएकाले उद्धारमा कठिनाइ भएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल गमगढी पुर्‍याइएको थियो । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रजिअ महतले बताउनुभयो । 

प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थीहरु बढी थिए । मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । तर, अहिलेसम्म सडक साघुँरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ ।    


प्रतिक्रिया