महानवमी पर्व आज मनाइँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७८ | काठमाडौं

बडादशैँ अन्तर्गत शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गरी महानवमी पर्व आज मनाइँदैछ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइ बिशेष पूजा गर्ने चलन छ । सिद्धिदात्रीको पूजा आराधना गर्नाले इच्छाअनुसारको फल प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ । आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।

पशुबली नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई पायस पनि चढाउने गर्दछन् । काठमाडौंको बसन्तपूरस्थित हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । आजैका दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधन आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि गरिनुका साथै दुई वर्षदेखि दस वर्षसम्मका कन्याको पूजाआजा समेत गरिन्छ ।

आज कोतहरूमा हर्षबढाइँका साथै कोतपूजा र निशान पूजा पनि गर्ने प्रचलन रहेको छ । नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बली दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठमा पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुँईचो लागेको छ। 

यसैगरी उपत्यका बाहिर काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाका गोरखकाली र मनकामना, सप्तरीको छिन्नामस्ता, चितवनको मौलाकालिका, धादिङको त्रिपूरासुन्दरी, र नेपालगञ्जको बागेश्वरीलगायतका मन्दिर तथा शक्तिपीठमा पनि दर्शनार्थीको भीड लागेको छ । महानवमीकै अवसरमा बिहानैदेखि रेडियो कान्तिपूरले काठमाडौंको बसन्तपुरस्थित तलेजू भवानीको मन्दिरबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । 


प्रतिक्रिया