प्रधानमन्त्री देउवा बाढी प्रभावित सुदुरपश्चिमको स्थलगत निरीक्षण

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | काठमाडौं


प्रधानमन्त्री शेरबहादुर देउवा बाढी र पहिरोबाट अति प्रभावित सुदुरपश्चिम प्रदेशको स्थलगत निरीक्षणमा जानुभएको छ । विहान सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले हेलिकोप्टरमार्फत् डोटी, बझाङ, डडेल्धुरा कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षण गर्दै हुनुहुन्छ । यसैबीच, बझाङमा बाढि पहिरोमा परि बेपत्ता भएका २१ जना अझै भेटिएका छैनन् । मंगलबार बिहान थलारा गाउँपालिका–४ डिक्लामा गएको पहिरोमा परी गगने अछामीका एकै घरका १८ जना र नरे पार्कीका ५ जना बेपत्ता भएकोमा २ जनाको शव भेटिएको छ । खोजी कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् । भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी बझाङमा मात्र ९ जनाको मृत्यु भएको छ ।

यसैबीच बाढी, पहिरो र डुबानमा फसेका विदेशी नागरिक तथा पर्यटकलाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनुभएको छ । लगातारको वर्षा पछि आएको बाढी पहिरो र भएको डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई यथाशक्य छिटो उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आज बिहान निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैबीच, केही दिन देखिको बेमौसमी बर्षातपछि आएको बाढी, पहिरो तथा डुवानबाट ९० जनाको मृत्यु भएको छ । २८ जना बेपत्ता छन् । २२ जना घाईते छन् ।  


प्रतिक्रिया