लगातारको बर्षापछि अछाममा सडक, विजुली र टेलिफोन अवरुद्ध

कार्तिक ४, २०७८ | काठमाडौं
लगातारको वर्षाले सडक, विजुली र टेलिफोन अवरुद्ध हुँदा अछामको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियोको प्रसारण र पत्रपत्रिकाको प्रकाशन समेत बन्द भएका छन् । अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लका अनुसार मध्यपहाडी राजमार्गमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले सडक संचालनका लागि अवरुद्ध हटाउन थालेका छन् । लगातारको वर्षाले डोटी , अछाम र डडेल्धुराका केही ठाउँमा पोल ढल्दा ४ दिनदेखि विद्युत अवरुद्ध भएको हो ।
महाकालीमा बाढी घट्यो
महाकाली नदीमा बाढी घट्दै गएको छ । आज बिहानको मापनअनुसार महाकालीमा पानीको वहाव १ लाख ५ हजार क्युसेक पुगेको छ । पानीको वहाव निरन्तर घट्ने क्रममा रहेको र नदी तटिय क्षेत्रको अवस्थापनि सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमा प्रसाद चर्तुवेदीले बताउनुभयो । मंगलबार महाकालीमा पानीको वहाव हालसम्मकै उच्च ५ लाख ४७ हजार क्युसेक पुगेको थियो । महाकालीमा बाढी घटेपनि विस्थापित परिवार भने अझै घर फर्किन सकेका छैनन् ।
भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध
स्याङ्जाको फेदिखोला गाउँपालिका– २ भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाको कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बिहानैदेखि राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको हो । सडक विभागसँगको सहकार्यमा राजमार्ग सुचारू गराउने पहल भइरहेको प्रहरीका सुचना अधिकारी डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।