प्रदेश १ मा ५० हजार हेक्टरको धानबालीमा क्षति

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | मोरङ

प्रदेश १ मा बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको छ । प्रदेश कृषि मन्त्रालयका अनुसार १४ जिल्लामा ३ लाख ३६ हजार हेक्टरमा धान खोती गरिएको थियो ।

त्यसमध्ये ५० हजार हेक्टरको धानवालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो । मन्त्रालयले पाँच प्रतिशत मात्र धान कटाई भएकाले थप क्षति नभएको जनाएको छ । बाढीले क्षति पुगेको १५ प्रतिशत मध्ये करिव ३ प्रतिशत पूर्ण रुपमा क्षति पुगेको छ ।

मोरङमा यस वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । त्यसमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको प्रदेश १ कृषि निर्देशनालयकी सुचना अधिकारी सरस्वती श्रेष्ठको भनाई छ । सुनसरीमा ९ हजार ७ सय हेक्टर र झापामा १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र वाढीले क्षति पुर्‍याएको छ । यो वर्ष बर्षाका कारण प्रदेशमा करिब एक लाख टन बढी धान उत्पादन घट्ने निर्देशनालयले जनाएको छ । 


प्रतिक्रिया