माओवादीले ३३ विभागको नेतृत्व टुंग्यायो

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७८ | काठमाडौं

नेकपा माओवादी केन्द्रले पार्टीका ३३ विभाग र १ प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले विभाग र प्रतिष्ठानको नेतृत्व चयन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रत्येक विभागमा अध्यक्षसहित ३५ सदस्य रहने गरि नेतृत्व चयन गरिएको उहाँले बताउनुभयो ।

बैठकमा सम्पर्क समिति गठन गर्ने र विपद् व्यवस्थापन विभाग गठन गर्नेबारे छलफल भएको छ । पार्टीले प्रवक्ता रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, पार्टी स्कुल विभागको नेतृत्व गिरिराजमणि पोखरेललाई दिइएको छ । सो विभागको नेतृत्वमा यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयमले गर्नुभएको थियो । दाहाललाई पार्टी स्कुल विभागको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै नेता नारायणकाजी श्रेष्ठलाई विदेश विभाग प्रम्ुखको जिम्मेवारी दिइएको छ । राष्ट्रिय सम्मेलनसम्म करिब ५ देखि ६ लाख सदस्य बनाउने लक्ष्य लिएको केन्द्रले तोकिएकै मितिमा सम्मेलन आयोजना गर्ने जनाएको छ । 

माओवादी केन्द्रले पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरेको थियो । त्यसभन्दा पहिले स्थानीय र प्रदेश तहका सम्मेलन गर्ने तयारी छ । 


प्रतिक्रिया