मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि सदनमा प्रस्ताव राख्ने

कार्तिक ५, २०७८ | काठमाडौं

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मत लिने प्रस्तावमा आगामी आइतबार मतदान हुने भएको छ । आज बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा आइतबार बस्ने प्रदेशसभा बैठकमा मतदान गर्ने सहमति जुटेको हो । आज बसेको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रदेश १ मा एमालेका १० जना सांसद नेकपा एकिकृत समाजवादीमा गएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्रीले असोज २३ गतेभित्र नै संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो ।

 मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । ९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् ।   


प्रतिक्रिया